पूर्वराजाको बेमौसमी रहरः नेतृत्व गरेको पनि देखियो !

पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीकाका अवसरमा सन्देश दिएका छन्, जनताले चाहे उनी नेतृत्व लिन तयार छन् । उनको अभिव्यक्ति त्यतिबेला आएको छ, जतिबेला जनताले स्थानीय तहमा नेतृत्व छानिसकेका छन्, प्रदेश र संघीय संसदमार्फत् गणतान्त्रिक नेपालको संवैधानिक व्यवस्थाअनुसार आगामी ५ वर्षका लागि मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने ‘रोडम्याप’ दिँदै छन् ।

पूर्वराजाको अभिव्यक्ति श्रव्यदृश्य सामग्रीसहित सार्वजनिक भएलगत्तै पाठकहरुको प्रतिक्रिया थियो, ‘आफ्नै छोरालाई त अभिभावकत्व दिन नसक्ने पूर्वराजाले देशलाई के नेतृत्व दिन्छन् ?’

सिंहासनबाट निकालिएको ९ वर्षमा उनले यस्ता अभिव्यक्ति पटक-पटक दोहोर्‍याइसकेका छन् । जनताले भने नारायणहिटीको नभई संसदमार्फत् मुलुकको नेतृत्व चुन्दै आएका छन् । २९ जेठ ०६५ मा पूर्वराजा नारायणहिटीबाट बाहिरिए यता उनलाई पुनः मुलुकको बागडोर हस्तान्तरण गर्ने जनचाहना कहींकतै प्रतिविम्बित भएको छैन ।

पुनःस्थापित प्रतिनिधिसभाले ४ जेठ ०६३ मा गरेको ऐतिहासिक घोषणामार्फत् ज्ञानेन्द्र शाह पूर्वराजा बनिसकेका थिए । २८ चैत ०६४ मा भएको निर्वाचनमार्फत् मुलुकले पहिलो संविधानसभा प्राप्त गर्‍यो । १५ जेठ ०६५ देखि नयाँ संविधान लेखनका लागि जनप्रतिनिधिले काम थाले । त्यसको १४ दिनपछि पूर्वराजपरिवारलाई नारायणहिटीबाट विदा गरियो ।

ज्ञानेन्द्र शाह त्यतिबेलै मुलुकको नेतृत्वका लागि असान्दर्भिक भइसकेका थिए । उनलाई सीमित भूमिका दिएर नारायणहिटी फर्काउने बहस त्यसयता पनि नभएको होइन ।

स्थानीय तह जितेर आएका युवाको अनुहार देखेर पनि पूर्वराजाको चेतको ढक्कन खुल्न नसकेको हेर्दा उनी मुलुकलाई नेतृत्व दिन सक्ने क्षमताका होइनन् भन्ने प्रष्ट हुन्छ

तर, दोस्रो संविधानसभामार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भयो, पूर्वराजा सत्तामार्गको पल्लोकिनारामा धकेलिए, कहिल्यै नफर्किने गरी । आफ्नो नेतृत्व आफैं चुन्न जनता व्यस्त रहेका बेला पूर्वराजाले नेतृत्वको खडेरी कसरी देखे ? यसको जवाफ खोज्न राजसिंहासनमा काकताली परेर उनको आरोहण र त्यसलगत्तै उनले पहिल्याएका पाइलाबारे विश्लेषण सान्दर्भिक हुन सक्छ ।

३० फागुन ०११ मा राजगद्दीमा आसिन हुँदा तत्कालीन राजा महेन्द्रसामु मुलुकलाई नेतृत्व दिइरहेका दूरदर्शी नेता बीपी कोइराला थिए । अस्थिर राजनीतिका बावजुद त्यतिबेला राणा शासनलाई सशस्त्र संघर्षमार्फत् फालेर आएको कांग्रेस नेपाली राजनीतिको ‘लाइम लाइट’मा थियो ।

संयोगवस, ज्ञानेन्द्रका पिता महेन्द्र पनि जनतालाई शासन सत्ता चलाउन दिन चाहँदैनथे । शक्ति हातमा लिएर जनता, कांग्रेस र बीपी कोइरालालाई सत्तामार्गको उपल्लो किनारामा धकेल्न चाहन्थे, सधैंका लागि । १ पुस ०१७, जसलाई नेपाली राजनीतिक, सामाजिक र अर्थतन्त्रका लागि समेत कालोदिन मानिन्छ, मा महेन्द्रको त्यो चाहना व्यवहारमा रुपान्तरण भयो । जननिर्वाचित संसद र प्रधानमन्त्रीलाई बर्खास्त गर्दै उनले मुलुकलाई ३० वर्षे अन्धकारमा धकेले ।

उनको त्यस सफलताका पछाडि तुलसी, गिरी, कीर्तिनिधि विष्ट, विश्वबन्धु थापा, सूर्यबहादुर थापालगायत राजनीतिकर्मीको साथ पनि एक कारण थियो । ती सबै त्यतिबेलाका युवा थिए, जो त्यस समयलाई राम्रोसँग बुझ्थे ।

र, ३० वर्षसम्म पञ्चायती व्यवस्थाको अँध्यारोमा मुलुकलाई राखिरहन ती नेताहरुले नारायणहिटी दरबारलाई राम्रै भरथेग पनि गरेकै हुन् ।

महेन्द्रका माइला छोरा ज्ञानेन्द्र काकतालीमा मुलुकको राजा बन्दै गर्दा अवस्था धेरै फेरिइसकेको थियो । मुलुक माओवादी सशस्त्र द्वन्द्वको उत्कर्षमा थियो । जनता त्यसबाट पार पाउन अभिभावक खोजिरहेका थिए । उनको मार्ग भने जनताको घरआँगनतिर सोझिएन, संसदीय अभ्यासलाई अपमानित गर्दै उनी आफ्ना बाबुकै पथमा अगाडि बढ्न दृढ देखिए ।

र, साथ लिए तिनै पात्रको, जसलाई आफ्ना बाबुले पनि सारथी बनाएका थिए । उनका बाबुको रथ दौडाउने पात्र बन्दै गर्दा उनीहरु युवा थिए, जो तत्कालीन समयलाई आफू अनुकुल हिँडाउन पनि खप्पिस मानिन्थे ।

ज्ञानेन्द्रको रथमा सारथी बनाइँदा ती पात्रहरु आफैं असान्दर्भिक बनिसकेका थिए । समयलाई आफूअनुकुल हिँडाउनु त टाढाको कुरा, सान्दर्भिकताबाटै हराइसकेका थिए ।

ज्ञानेन्द्र चिप्लिएको विन्दु त्यही हो । र, जनताले नै सत्तामार्गको पल्लो किनारामा धकेलिदिएर जनता नै बीचमा चट्टाने पर्खाल बनेर उभिएका बेला उनी फेरि कस्तो अभिभावकत्वको मनको लड्डु तयार पार्दैछन् भन्ने आफैंमा यक्ष प्रश्न हो ।

एउटा कुराचाहिँ सत्य हो, उनी जनताको ताकतमा विश्वास गर्दैनन्, आफू हुर्के/बढेको परिवेश, परिवार र समयका कारणले । जनताले राजगद्दी र श्रीपेचलाई संग्रहालयमा थन्क्याइसकेका छन् । तिनमा विस्तारै माकुराको जालो र धुलो बढ्दै गएको कुरामा उनी अनभिज्ञ छैनन् । फेरि पनि नेतृत्व लिने सपना देख्दैछन्, ज्ञानेन्द्र शाह ।

उनका लागि मुलुकको बागडोर सम्हालन पाउने दुई तरीका छन्, अझै । पहिलो, कुनै दलमा आवद्ध हुने र राष्ट्रपतिको कुर्सीमा पुग्ने । दोस्रो, लोकतान्त्रिक गणतन्त्रविरुद्ध जनतालाई सडकमा उतार्ने र राजगद्दीमा फर्किने ।

केही स्वार्थी समूह छन्, जो ज्ञानेन्द्र शाहलाई गद्दीबाट उतार्ने प्रक्रियालाई अवैधानिक ठान्छन् । के त्यसो भए जनतालाई किनारामा धकेलेर मुलुकलाई अन्धकारमा धकेल्ने उनको कदम वैधानिक थियो ? उनलाई गद्दीच्युत गर्न म्यान्डेट सडकमा धकेलिएका जनताले सडकबाटै दिएका थिए । जनताको म्यान्डेट अवमूल्यन दुस्साहस बाहेक केही मान्न सकिँदैन ।

स्वार्थी समूहको घेरामा बसेर गिरोहको साथ लिई सत्तामा फर्किने सपना पूर्वराजाले देखेको भए त्यो उनको फगत दिवास्वप्न मात्र हो, जसबाट फल प्राप्त हुन सक्दैन । पूर्वराजाले अनुसरण गरिरहेका पुरातन नीतिशास्त्रहरुले पनि त्यसै भन्छन् ।

आफूलाई फूलका माला र जनताको शासनलाई कागजको मालाका रुपमा तुलना गरेर फेरि पनि ज्ञानेन्द्र शाहले फेरि एक पटक जनताको अवमूल्यन गरेका छन् । पूर्वमहाराज जवाफ देऊ, तिमी कसरी फूलका माला कहलाउन योग्य छौ ? फूलका मालाले झिलिमिलीको पर्व तिहारको प्रतिनिधित्व गर्छन् । तिमीले अभ्यास गरेको व्यवस्था अन्धकारको थियो, कसरी तिहारसँग तुलना गर्छौ ? के जनप्रतिनिधि कागजका माला हुन् ? के २१औं शताब्दीको विश्वले अन्धकारको पर्वलाई स्वीकार गर्छ ?

पाँच पाण्डवलाई सियोको टुप्पो पनि नदिने धृष्टता धृतराष्ट्र पुत्र दुर्योधनले गरिरहँदा महाभारत युद्धको विजारोपण भएको थियो । पाण्डु पुत्रहरुले कौरव वंश र युगको अन्त्य गर्दै लडाईं जितेपछि धृतराष्ट्रसामु वानप्रस्थ आश्रमतिर पाइला सार्नुको विकल्प थिए । द्वापर युगमा विश्वास गरिने परलोक सुधार्ने एक मात्र विकल्प बचेको थियो, सन्तान, दरसन्तान गुमाएका धृतराष्ट्रका अगाडि ।

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको अघिल्तिर पनि वानप्रस्थ आश्रममा बसेर परलोक सुधार्ने उपाय मात्र बाँकी छ, अब । हिन्दु वणर्ाश्रम धर्मअनुसार उमेरका कारण पनि उनका सामुन्ने वानप्रस्थ आश्रमकै ढोका खुला छ । गृहस्थाश्रममा फर्किने सपना देख्न छाड, पूर्वराजा ।

मुलुकको शासन व्यवस्था अब युवाले सञ्चालन गर्ने हो । स्थानीय तह जितेर आएका युवाको अनुहार देखेर पनि पूर्वराजाको चेतको ढक्कन खुल्न नसकेको हेर्दा पनि उनी मुलुकलाई नेतृत्व दिन सक्ने क्षमताका होइनन् भन्ने प्रष्ट हुन्छ ।

दशैं, तिहार परिवारसँगै बसेर मनाइने पर्व हुन् । पूर्वराजाका सन्तानले पनि दरबारको साँघुरो कठघेरा नाघेर बाहिर निस्कन पाउँदा परिवारको विशालता पाएका छन् । विगतका रैती अब उनीहरुका सहयात्री बनेका छन् । जनताका साथमा रमाउन पाएका छन्, तिनले । र, देश, भूगोल, समाज र परिवेशमा हराउन पाएका चाहेका छन् ।