गौरको स्थिति नियन्त्रणबाहिर, कर्फ्यु जारी

काठमाडौँ, भदौ ७ । स्थानीय प्रशासनले रौतहट सदरमुकाम गौरमा कर्फ्यु लगाएको छ। घरेलु हातहतियार सहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार साढे ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो। झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरी एक दजर्न बढी घाईते छन्। आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास र केही राउण्ड रबरको गोली प्रहार गरेको थियो। स्थिति नियन्त्रणबाहिर गएकाले कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जनाए ।