भरतपुर छापा प्रकरणमा कारबाही प्रक्रिया शुरु , दुई व्यापारीको खाता रोक्का

अनुसन्धानका लागि गएको राजस्व अनुसन्धान विभागको टोलीलाई घुस मागेको र नदिएपछि पूर्व जानकारी बिना नै पसलमा सिलछाप गरी आतङ्क मच्चाएको भन्दै विरोध जनाउदै विभागको  बा १ झ  ९१३५ नं.  को  गाडी तोडफोड गरी आगजनीमा उत्रेको घटनामा  लाई लिएर विभागका उच्च अधिकारीहरूको बैठकले भरतपुर सहिद चौकस्थित लक्ष्मीनारायण वस्त्रालय र भगवत वस्त्रालयका प्रोपाइटरहरू ध्रुवकुमार श्रेष्ठ, लक्ष्मीनारायण श्रेष्ठ, प्रल्हाद श्रेष्ठको बैङ्क खाता रोक्का गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। अनुसन्धानका लागि भरतपुरको सहिद चौकस्थित स्थानीय लक्ष्मीनारायण वस्त्रालयमा विभागका निर्देशक भरतराज सुवेदीसहितको  टोलीलाई व्यवसायीहरूले घेराउ गरी अभद्र व्यवहार गर्दै अनुसन्धानको लागि सिलछाप गरेको लक्ष्मीनारायण र भगवती वस्त्रालयको गोदामको सिलछाप खोल्न बाध्य पारेको थियो ।  उनीहरूलाई तीन दिनभित्र विभागको सम्पर्कमा आउन पत्र पठाइएको विभागका एक अधिकारीले बताएका छन्  । यो कारबाहीको प्रारम्भिक चरण भएको र उनीहरूमाथि अरू थप कारबाही विभागले गर्दै जाने ती अधिकारीको भनाइ छ।