सिन्धुपाल्चोकको लार्चामा सुविधा सम्पन्न सुख्खा बन्दरगाह निर्माण

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोकको तातोपानी गाविस स्थित  लार्चामा सुविधा सम्पन्न सुख्खा बन्दरगाह निर्माण सुरु गर्ने सम्झौता भएको छ ।  वाणिज्य तथा आपुर्ति मन्त्रालयमा  आयोजित एक कार्यक्रम बीच नेपाल सरकारका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक सरद विक्रम राणा र निर्माण कम्पनी वेइजिङ्ग रियल स्टेट ग्रपका डेपुटी लिडर कि वेईले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  आठ करोड ६२ लाख युआन लागत रहेको सुख्खा बन्दरगाह ४ दशमलव २ हेक्टर क्षेत्रफलमा निर्माण हुने बताईएको छ । साथै निर्माण कम्पनीले नेपाल चीन सिमाना लिपीङ्ग देखि निर्माण स्थल सम्म ६ दशमलव ५ कि.मी. सडकको स्तरोन्नती र भोटेकोशी नदिमा ११२ मिटर लामो पुल निर्माण पनि गर्ने छ । नेपाल-चीन संयुक्त आर्थिक समितिको चार वर्षअघि सम्पन्न बैठकमा लार्चाका साथै रसुवामा बन्दरगाह निर्माण गर्ने सम्झौता भएको थियो ।  २ वर्ष २ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित  बन्दरगाह निर्माणको जिम्मा चीन सरकारले बेइजिङ रियल स्टेट कम्पनीलाई दिएको छ । इन्टरमोडलका कार्यकारी निर्देशक राणाले बन्दरगाहका लागि जग्गा अधिग्रहण लगायतका  काम सम्पन्न भइसकेकोले तत्काल निर्माण कार्य सुरु हुने बताएका छन् । व्यापार सहजीकरणका लागि आवश्यक ठानिएको सुख्खा बन्दरगाह वीरगन्ज, विराटनगर, भैरहवा र मेचीमा निर्माण सम्पन्न भैसकेका छन् ।