जसले आकाशबाट पहिरो देखे…

सधैंजस्तै शनिबार पनि एभिया क्लबका प्रमुख चालक एलेक्सजेन्डर म्याक्सिमोभ पर्वतीय उडानमा थिए । बिहानको करिब साढे ८ बजेको थियो । पोल्यान्डका एक नागरिकलाई उनी हिमाल देखाउँदै थिए । चारैतिर हेर्दै, उडिरहेका म्याक्सिमोभले एकाएक माछापुच्छ्रे क्षेत्रमा पहिरो देखे । ‘म एकदमै आत्तिएँ, तुरुन्तै त्यहाँबाट बायाँ घुमेर सुरक्षित स्थानतर्फ लागेँ,’ अंग्रेजी बोल्न नसक्ने यी रसियन नागरिकले एभिया क्लबका प्रबन्धक प्रवीन गौचनमार्फत कान्तिपुरसँग भने, ‘पोखराको झन्डै ७ माइल उत्तरपट्ट िपुगेर विमानस्थल टावरलाई रेडियो कम्युनिकेसनमार्फत खबर गरे ।’

उनले पोखरा विमानस्थलको टावरमा रहेका एटीसी अनुप जोशीलाई माछापुच्छ्रेतिरबाट आएको पहिरो सेती नदीमा पुगेको जानकारी दिए । एटीसी प्रमुख प्रताप तिवारीका अनुसार खबर पाउनासाथ विमानस्थलले यसबारे स्थानीय एफएमहरूलाई जानकारी दिएको थियो ।

सुरुमा त म्याक्सिमोभलाई सुनामी आयो भन्ने लागेको थियो । ‘पहिरोको गति विमानकोभन्दा बढी थियो, अवस्था निकै डरलाग्दो छ, तुरुन्त प्रहरीलाई खबर गर्नु भनेँ,’ उनले भने, ‘र्फकने क्रममा सराङकोटमाथि थिएँ, पहिरो पनि मुनि सेती नदीसम्मै आइपुगेछ ।’ अरू बेला थोरै पानी बग्ने सेतीमा त्यतिबेला बाढीको वेग र उचाइ निकै बढी थियो ।

झन्डै १२ हजार फिटबाट झरेको पहिरोले सेतीसम्म आइपुग्दा हिलो बाढीको रूप लिएको थियो । ‘पानीमा रूख, टायर र अन्य वस्तुहरू बगिरहेका थिए,’ उनले भने, ‘मान्छे बगाएको भने देखेको थिइनँ, तर पछि थाहा पाएँ धेरैले ज्यान गुमाएछन् ।’

बाह्र वर्षदेखि एभिया क्लबमा काम गरिरहेका यी ५७ वषर्ीय चालकले यसअघि सानातिना पहिरो गएको धेरै देखिसकेका छन् । ‘शनिबारको पहिरो भने निकै ठूलो थियो,’ उनले भने, ‘यस्तो पहिले कहिल्यै देखेको थिइनँ ।’ उनीसँगै रहेका पोल्यान्ड नागरिक पनि त्यो देखेर निकै डराएका थिए । ‘यत्रो पहिरो पहिलो पल्ट देखेको हुँ,’ उनलाई उद्धृत गर्दै म्याक्सिमोभले सुनाए, ‘यो पर्वतीय उडान मेरा लागि सधैं सम्झने डरलाग्दो घटना बनेको छ ।